व्यक्तित्व, व्यवसायिकता र व्यवस्थापन

व्यक्तित्व, व्यवसायिकता र व्यवस्थापन

कुनैपनि कम्पनी, समूह र व्यवसाय सफलतामा पुग्नको लागि व्यक्तित्व, व्यवसायिकता र व्यवस्थापनलाई महत्वपूर्ण तीनवटा खम्बाको रूपमा हेर्न सकिन्छ । जसरी एउटा मोबाइल वा कम्प्युटर राम्रो हुनको लागि हार्डवेयर र सफ्टवेयर दुवै महत्वपूर्ण हुन्छ । त्यस्तै गरी यी तीनै तत्वहरुमा दुवै पक्ष समावेश भएको हुन्छ ।

सफ्टवेयरमा धेरै जसो कला, शैली, चरित्र, सोच, मानसिकता, ज्ञान, बौद्धिकता, दृष्टिकोण, सृजनाशीलता, आदि पर्दछन् भने हार्डवेयरमा काम, प्रणाली, विधि, मौलिकता, प्रस्तुति, काम गर्ने वातावरण, उपलब्ध स्रोत र साधन, गुणस्तरीय सरसामान, उचित हिफाजत र सुघर सफा, व्यवस्थापन र सदुपयोग आदि पर्दछन् ।

व्यक्तित्व एक निरन्तर विकास र परिवर्तन भई रहने एउटा प्रक्रिया हो । व्यक्तित्वका कति विशेषताहरू उसले जन्मजात प्राप्त गरेको हुन्छ, जो अरू सँग मेल खादैन, त्यसले उसलाई एउटा छुटै पहिचान, परिचय दिराखेको हुन्छ । व्यक्तित्व एउटा व्यक्तिको सोचाई, भावना, गुण, चरित्र, स्वभावको योग हो, जसले उसको व्यवहार र अन्य मानिसहरू सँगको सम्बन्धमा प्रभाव पार्छ । हाम्रो व्यक्तित्व मानिसलाई चित्तबुझ्दो छ कि छैन ? समय अनुसार हाम्रो शैली, व्यवहार, हाम्रो विशेषतामा कसरी परिमार्जित गरी राखेको छौं ? हाम्रो व्यक्तित्व विकासमा समय र स्रोत लगाएको छौं कि छैनांंै ? समय अनुसार हाम्रो व्यक्तित्वको आकर्षण कसरी बदलिन्छ ( बुद्धिमान्, सन्तुष्ट र उदार वा अहम, झूट, घृणा आदि ) ? व्यक्तित्वको प्रकारको बारेमा थुप्रै सिद्धान्तहरू विकसित भएका छन् । हरेक किसिमका व्यक्तित्वको आफ्नै सबल र दुर्बल पक्षहरू छन् । परिस्थिति जन्य वा माहोलले खोजेको व्यक्तित्व शैली नै उपयुक्त व्यक्तित्वको रूपमा स्वीकार गरिन्छ ।

 हरेक व्यक्तिले उसको उपस्थित वा अनुपस्थितिमा अन्य मानिसहरूको मानस पटलमा एक प्रकारको छाप छोडी राखेको हुन्छ । त्यो छाप सकारात्मक वा नकारात्मक हुन सक्छ । कतिचोटी अन्य मानिसमा परेको प्रभाव र व्यक्तित्वको वास्तविक विशेषतामा पुरै फरक पनि हुन सक्छ । यसको प्रमुख कारक भनेको उसको बारेमा संचार गर्दा प्रयोग भएको विषय र संचार गर्नेको नियत हुन सक्छ । मानिसहरुको बझाई र वास्तविकता आफैमा भिन्न भइराखेको हुन्छ । यसको निराकरण समयले र विभिन्न घटनाक्रमको सुरुवात, विकास र समाप्तिले गर्ने गर्छ तर यसरी पुगेको वास्तविकताको निष्कर्षमा धेरै कुरा गुमेको र स्रोत साधन र ऊर्जा गलत तरिकाले खपत भएको हुन्छ । हामी यहाँ के भन्न सक्छांै भने, हामी सबैको आफ्नै व्यक्तित्व शैली र प्रकार छ । यो एउटा अपरिवर्तनीय, समस्या र विगतको घटनाक्रमले कैदी बनाएको, विकास गर्न नसकिने, सीमित, आवेग र अमूर्त कुराको बन्दी नभई परिवर्तनशील, निरन्तर सुधार, परिमार्जन, र विकसित गर्न सक्ने, रचनात्मक र साँघुरो घेरा बाट बाहिर निस्कन सक्ने र सम्भावना देख्न सक्ने व्यक्तित्व शैली हामी आफैमा र हाम्रो सहकर्मीमा निर्माण गर्न परिश्रम र लगानी आवश्यक हुन्छ । गलत व्यक्तिहरू बाट सही समूह तथा कम्पनी कल्पना गर्न सकिँदैन । असल व्यक्तिको खोजी भइराखेको हुन्छ, असल व्यक्ति खोज्नेले आफू त्यो असल व्यक्ति बन्नु पर्छ, आफूमा बनेको असल व्यक्तित्वले अन्य असल व्यक्ति आकर्षक गर्छ र ऊ हाम्रो समूहमा रहिरहन्छ अन्यथा असल व्यक्तित्व पाएता पनि हामी गुमाउँछौं ।

अर्को सफलताको खम्बा व्यवसायिकता हो । असल व्यक्तित्वको व्यवहार र कार्य शैली व्यवसायिकतामा प्रकट भएको हुन्छ । व्यवसायिकतामा व्यक्तिले आफ्नो पेशा र व्यवसायलाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । उसको समर्पणता र लगनसिलताको निरन्तता बद्ली रहने ऋतु जस्तो नभई चट्टान जस्तो स्थिर र अढिक रहेको हुन्छ । कार्य क्षमता र कार्य शैलीमा निखारपन र परिपक्वता प्राप्त गर्दै अघि बढिरहेको हुन्छ । व्यवसायिकताको अर्को पक्ष भनेको उसले अँगालेको सही प्रणाली र प्रक्रिया हो । एउटा विधि र प्रणालीमा स्थापित र सञ्चालित संस्था वा समूहले मात्र दिगो पन प्राप्त गरी र लक्ष्यमा पुग्न सक्छ । एक प्रणालीमा धेरै कारकहरू र आयामहरू समावेश  भएको हुन्छ । सामूहिक छलफल, गम्भीर अन्तरक्रिया, सामूहिक अनुभव र दृष्टिकोणलाई लिपिबद्ध विवरण तयार गरी लिखित रूपमा दस्तावेज तयार गर्नु पर्छ ।

व्यवसायिकतामा अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रयोग भएको उपकरण र औजारहरू हो । व्यवस्थापनमा विशेष गरी, आर्थिक व्यवस्थापन, बजार व्यवस्थापन तथा मानव संसाधन व्यवस्थापनमा विभिन्न औजार प्रयोग गर्न सकिन्छ । हरेक पेशाको लागि आफ्नै मौलिक ज्ञान र सीप आवश्यक हुने गर्छ । ज्ञानको विशेषज्ञता हासिल गर्ने र समय अनुसार प्राप्त गरेको ज्ञान र सीपलाई अद्यावधिक गर्न व्यक्तिगत रूपमा प्रतिबद्धता भइरहनु पर्दछ । शैक्षिक योग्यताहरू, डिग्री र प्रमाणपत्रहरू जुन ज्ञानको जगको रूपमा सेवा गर्दछ । समय र स्रोत साधनले भ्याए सम्म यी कुराहरू प्राप्त गर्न सधैँ तम्तयार हुनु पनि व्यवसायिकताको एउटा पाटो हो । यसले मानिसहरूलाई उसले गर्ने काम र व्यवहारमा विश्वस्तता र साहस दिलाउँछ । आफ्नो काम र पेशा प्रति एउटा व्यक्तिको निर्धक्कता र आत्मविश्वासले  कम्पनीको उत्पादकत्व र प्रभावकारितामा ठूलो योगदान पुर्याउँछ । व्यावसायिकता कुनै एक चीज मात्र होइन यो विभिन्न गुणहरूको संयोजन हो । यी गुणहरूमा जिम्मेदारी, इमानदारी, निष्ठा, जवाफदेहिता, उत्कृष्टता लगायत अन्य कार्यस्थलसँग सम्बन्धित उपयुक्त व्यवहार शैलीहरू समावेश भएको हुन्छ । व्यावसायिकताकायम गरेका मानिसहरू समय र स्रोत साधनलाई लाभकारी र प्रभावकारी तरिकाले उपयोग गरेका हुन्छन् । हामीले प्राय सुन्ने गर्छांै, नेपाली समय कि अंग्रेजी समय भनेर । वास्तविकतामा नेपाली समय र अंग्रेजी समयमा फरक छदँै छैन । फरक छ त केवल व्यवसायिकतामा । आखिर संसारका सबै मानिसलाई उपलब्ध समय भनेको दिनको २४ घण्टा नै हो नि । ठीक समयमा नै काममा पुग्ने, भने कै समयमा कार्यक्रम सुचारु गर्ने, तोके कै समयमा समाप्ति गर्ने, उदेश्य अनुसारको विषयवस्तु र कार्यक्रम प्रस्तुत गर्ने साथै स्थापित मापदण्ड वा सो भन्दा उच्च गुणस्तरलाई आत्मसाथ गर्ने काम आवश्यक हुन्छ । उपयुक्त लुगा, सुघर, सफा कायम गरेको, कार्यस्थलका अन्य सहकर्मीहरू सँग प्रभावकारी र उचित संचार गर्नु पनि व्यावसायिकताको एक अत्यावश्यक अंश हो ।

व्यावसायिकता सहजै प्राप्त गर्न सक्ने एक सीप होइन, यो मानव कारकको बहुआयम पक्ष, बिधि, प्रणाली र प्रक्रियाको योग हो । वर्षौंको अनुभव, गल्तीहरू बाट सिकेको पाठ र परिवर्तित मानसिकताले थप निखार दिएको हुन्छ ।

व्यवस्थापन सफलताको अर्को महत्वपूर्ण खम्बा हो । सपना वा दर्शन देख्ने मानिसहरू त चाहियो नै, कल्पनालाई वास्तविकतामा उतार्न धेरै योजनाबद्ध र रणनीति कार्यक्रमहरू निर्माण र कार्यान्वयन आवश्यक हुन्छ जसमा व्यवस्थापन अग्रपंक्तिमा पर्दछ । भविष्यको निम्ति हामीले देखेको तस्विर र हामी कहाँ पुग्न चाहन्छौं त्यो हाम्रो दर्शन हो । दर्शन पुरा गर्न वा तस्विर पुरा गर्न हामी के गर्छौं त्यो हाम्रो लक्ष्य हो । कसरी लक्ष्य प्राप्त गर्छौं त्यो हाम्रो रणनीति हो । लक्ष्य प्राप्त गर्न गरिने योजना, संगठन ( विभाग ), कर्मचारी योजना र नियुक्ति, निर्देशन, सञ्चार, नियन्त्रण ( अनुगमन, मूल्यांकन ) जस्ता कार्यहरूलाई व्यवस्थापन भनिन्छ । उद्देश्य प्राप्त गर्न प्रभावकारी रूपमा स्रोत साधनको उपयोग पनि व्यवस्थापन अन्तर्गत पर्दछ । सबैभन्दा शक्तिशाली स्रोत साधनमा मानव संसाधन पर्दछ । ठीक समयमा सही मानिस उचित कामको लागि प्राप्ति, विकास र उपयोग व्यवस्थापनको अर्को एकदमै महत्त्वपूर्ण पाटो हो । जनशक्तिको व्यवस्थापन अन्य स्रोत साधनको व्यवस्थापन भन्दा जटिल र चुनौती पूर्ण हुन्छ । व्यवस्थापनको अन्य हरेक कार्यलाई सञ्चालन र सफलतामा पुर्याउन मानव संसाधनमा भर पर्दछ । व्यवस्थापकलाई व्यवस्थापनको काम पुरा गर्न सही सिद्धान्तहरूको साथमा उत्कृष्ट कलाको जरुरी पर्दछ, खुशीको कुरा उक्त कला सिक्न सकिन्छ ।

हामीले चर्चा गरेको व्यक्तित्व, व्यवसायिकता र व्यवस्थापन हरेक क्षेत्रहरू लागू हुन्छ नै । त्यसमा पनि अहिले नेपाली समाजले भोगेको समस्याहरूमा बेरोजगारीको समस्या अग्रपंक्तिमा पर्दछ । कसरी बेरोजगारीको समस्या समाधान गर्ने त ? यो आज मण्डलीहरूको पनि चासोको विषय भएको छ । उद्यमशीलताको माध्यमबाट मात्र रोजगारीको सृजना गरी आत्म सम्मानको जीवनयापन गर्न सकिन्छ । उद्यमशीलता कुन बिन्दुबाट सुरु हुन्छ त ? उद्यमशीलताको सुरु हुने बिन्दु भनेको समाधान गर्नुपर्ने समस्या र समाजमा आएको परिवर्तनले ल्याएको अवसरहरू बाट  हो । हरेक समस्याले समाधान खोजिराखेको हुन्छ । समाधानको बाटो एउटा असल विचारले दिराखेको हुन्छ । विचारलाई उचित वस्तु तथा सेवामा रूपान्तरण गर्नु पर्ने हुन्छ । समस्याको समाधान दिने उत्पादन भनेको वस्तु वा सेवा नै हो । हामीले उत्पादन गर्ने वस्तु र सेवाले मानिसको खाँचो पुरा गरी सन्तुष्टि दिन्छ । मानिसलाई सन्तुष्टि दिने वस्तु वा सेवा सृजना गर्न हामीलाई पर्याप्त स्रोत साधन आवश्यक हुन्छ । स्रोत साधनहरू जस्तैः कच्चा पदार्थ, लगानी, मेसिन, कामदार, स्थान, कार्यालय, आदि । स्रोत साधनको पहिचान गर्ने, आवश्यक ठाउँमा वा उचित समयमा जुटाउने ,व्यवस्थापन गर्ने , सदुपयोग गर्ने काम व्यवस्थापकले प्रभावकारी र दक्षता पूर्वक गर्नुपर्ने हुन्छ । कम्पनी सफलता पूर्वक आफ्नो लक्ष्यमा पुग्न स्रोत र साधनलाई प्रभावकारी व्यवस्थापन गर्नु पर्ने हुन्छ । उत्कृष्ट व्यवस्थापन एक कला हो यसलाई सिक्न सकिन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको परिवर्तन हो र यो एउटा निरन्तर चली रहने प्रक्रिया हो, समाजको जीवन शैली, सांस्कृतिक रहन सहन, राजनीतिक दर्शन र समूह, सूचना प्रविधिको सृजना र विकास, आर्थिक स्तर, वस्तु तथा सेवाको किसिम र नवीनता, सामाजिक मूल्य मान्यता, अधात्मिकता र दर्शन आदि । यी सबै परिवर्तनले सुनौलो मौका लिएर आएको हुन्छ । त्यसलाई देख्ने आँखा र सदुपयोग गर्ने जोश, जाँगर र दक्षतामा तम्तयारी रहनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *